भरतपुरको बोस्टन कलेजले राष्ट्रिय ह्याकाथन प्रतियोगिताको आयोजना गर्दै

चितवन । चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजले आईटी पढेका विद्यार्थीहरुलाई लक्षित गर्दै तेस्रो संस्करणको राष्ट्रिय ह्याकाथन प्रतियोगिता गर्न लागेको छ ।

कलेजले यही पुस ४ देखि ६ गतेसम्म भरतपुरमा गर्न लागेको ह्याकाथनमा कक्षा ११ देखि स्नातक तहसम्मका विद्यार्थीले भाग लिन सक्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रो हुने टिमले २५ हजार, तेस्रो हुने टिमले १५ हजार रुपैयाँ तथा उत्कृष्ट एउटा टिमलाई रु पाँच हजार प्रदान गरिने इभेन्ट एडभाइजर नितेशकुमार सिंहले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि विद्यार्थीहरुले आजदेखि मंसिर २६ गतेसम्म कलेजमा सम्पर्क राख्न सक्ने भन्दै सिंहले एउटा टिममा दुईदेखि तीन जना विद्यार्थी सहभागी हुन पाउने बताउनुभयो । देशमा रहेका सबै विश्वविद्यालयका विद्यार्थीहरु सहभागी हुन पाउने भन्दै सिंहले प्रतियोगितामा नयाँ विषयमा सफ्टवेयर निर्माण गर्नुपर्ने बताउनुभयो ।

कलेजका अध्यक्ष आनन्द बहादुर चन्दकाअनुसार निरन्तर ४८ घण्टासम्म सहभागीको टिमले सफ्टवेयरको निर्माण गरेर प्रदर्शन गर्नेछ । यस अघि सम्पन्न पहिलो संस्करणमा गैँडाकोटको लुम्बिनी आईसीटी कलेज तथा दोस्रो संस्करणमा पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको टिम पहिलो भएको थियो ।

News Source  : https://www.halkarosamachar.com/archives/128476

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments